उदयपुर – श्रीमती युएई गएको ९ महिनामा फर्किएको खबर आयो वीरबहादुर तामाङलाई । उहाँलाई मनिषा आउने केही थाहै थिएन । श्रीमती फर्किएको खबर उहाँसँगै युएई गएकी वीरबहादुरकी दिदी सविनाले सुनाउनुभएको थियो । तर के कारणले ९ महिनामै फर्किनुभएको हो भन्ने चाहिँ थाहा पाउनुभएन ।

दिदीले भनेपछि वीरबहादुर र ६ वर्षकी छोरी प्रमिसा उहाँ घर आउने बाटो हेरिरहेका थिए । तर न मनिसाले काठमाडौं आइपुगें भनेर फोन गर्नुभयो न घर पुग्नुभयो । मनिसा दुवईबाट हिँडिन भनेको ८ दिन भयो तर उहाँ अहिलेसम्म घर पुग्नुभएको छैन ।

मनिषासँगै आमाजु सविना तामाङ पनि एउटै कम्पनीमा जानुभएको थियो । कम्पनी एउटै भएपनि बसाई र काम टाढा टाढा थियो । मनिषाले गएको ३ महिनासम्म फोन गर्नुभयो । तीन महिनापछि फोन आउन छोड्यो ।

९ महिनासम्म श्रीमतीको फोन आएन । गएको फागुुन १६ गते मनिषा नेपाल आएको खबर आयो । एक्कासी नेपाल आएको कुरा सुन्दा वीरबहादुर छक्क पर्नुभयो । नेपाल आएपछि श्रीमती घर आउँछिन् भन्ने आशामा बस्नुभयो । तर आजसम्म मनिषा पुग्नुभएको छैन ।

घर नआएपछि वीरबहादुरलाई मनिषा नेपाल आएको हो कि होइन भन्ने नै शंका लाग्यो । त्यसैले दुवईमा श्रीमतीले काम गर्ने ठाउँमै फोन गरेर पनि सोध्नुभयो । कम्पनीले पनि मनिषा नेपाल गइसकेको भनेपछि आएको त पक्का भयो तर आएर पनि बेपत्ता हुनुको कारण चाहिँ अहिलेसम्म पत्तो पाउन सक्नुभएको छैन ।