काठमाडौं–राष्ट्रपति एमाले र सभामुख माओवादी केन्द्रले लिइसकेपछि उपराष्ट्रपति र उपसभामुख अब कसले पाउला ?

बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् ।

उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।

स्रोतका अनुुसार फागुन २३ गते प्रधानमन्त्री ओली र संयोजक ठाकुरबीच भएको वार्तामा प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको हो ।

प्रधानमन्त्रीको प्रस्तावमा ठाकुरले आफु सकरात्मक रहेको र यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । पार्टीका नेता जिल्ला बाहिर भएकाले ठाकुरले छलफल गर्न भ्याएका छैनन् ।

राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले सविधान संशोधनलगायत अन्य पदको विषयमा छलफल भइरहेपनि हालसम्म कुनै टुगों नलागेको बताए ।

‘उपराष्ट्रपति र तीनवटा मन्त्रालय हाम्रो पार्टीले माग गरेको छ । तर, कुरा मिलेको छैन’ उनले रातोपाटीसँग कुरा गर्दै भने, कुराकानी भइरहेको छ, उपराष्ट्रपति दिने फाइनल भयो भने कसलाई दिने विषयमा पार्टीले टुगों लगाइनेछ ।’

राजपाका अर्का एक नेताले प्रधानमन्त्रीको प्रस्ताववारे ठाकुरले पार्टीभित्र अनौपचारिक छलफल गरिरहेको बताए । प्रधानमन्त्री ओली ठाकुरलाई नै उपराष्ट्रपति बनाउन चाहेका छन् । राजपा नेपालमा अन्य नेताहरु पनि ‘ठाकुर नै उपराष्ट्रपति बनिदिए हुन्थ्यो’ भन्ने छ ।

‘अब महन्थ ठाकुरसँग कुनै विकल्प छैन’ राजपा नेपालका एक नेताले भने, ‘महन्थजी मन्त्री बन्नुहुन्न । उहाँलाई चाहिएको प्रधानमन्त्री, राष्ट्रपति र सभामुख हो । तर, यी मध्ये अब राजपाको भागमा आउने कुनै बाँकी रहेन । त्यसैले उहाँ उपराष्ट्रपति नै बन्नुहुन्छ ।’

स्रोतका अनुसार ठाकुरले पनि आफु निकटकासँग उपराष्ट्रपति बन्ने इच्छा देखाएका छन् । यसअघि पनि उनले उपराष्ट्रपतिका लागि प्रयास गरेका थिए । तर, पार्टीभित्रका उनी निकटका नेताहरुले रोकेपछि पछाडि हटेका थिए ।

राजपा नेपालले एमाले र माओवादी केन्द्रसँग वातार्मा तीन मन्त्रालय र उपराष्ट्रपति माग गरेको थियो । सत्तारुढ दल दुईटा मन्त्रालय र उपराष्ट्रपति दिन सहमत भएका छन् ।

सविधान संशोधनका विषयमा एमाले र माओवादी केन्द्रले सैद्धान्तिक सहमति जनाइसकेको छ । सहमतिको मस्यौदा तयार गर्न कार्यदल बनाउने कुराकानी तयारी भएको स्रोतले बतायो ।

सो पार्टीका सहमहासचिव डा.सुरेन्द्र झाले बाहिर आएको जस्तो कुनै विषयमा सहमति नभएको दावी गरे ।

उनले भने, ‘पार्टीका सांसद रेशम चौधरी जेलमा हुनुहुन्छ । उहाँको रिहाईका लागि पार्टीका संयोजकज्युले पहल गर्न लाग्नुभएको छ । त्यसैका लागि प्रधानमन्त्रीसँग छलफल भएको हो । त्यहीँ क्रममा प्रधानमन्त्रीले सहभागी हुन आग्रह गर्नुभएको हो । सरकारमा जाने राजपा नेपालको कुनै एजेण्डा छैन ।’