काठमाडौं । नायिका निशा अधिकारी यतिबेला गर्भवती छिन् । गत असारमा क्रिकेटर शरद भेषवाकरसँग विहे गरेकी निशा यतिबेला फिल्म क्षेत्रभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय छिन् । निशाले पेटमा हुर्किरहेको बच्चाको विषयमा सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु राख्दै आएकी छन् । सबैभन्दा आफु गर्भवती भएको सामाजिक सञ्जालबाटै खुलाशा गरेकी निशा सधै अपडेटमा छिन् ।

सामान्यतया नेपाली सेलिब्रेटी तथा कलाकारहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका नयाँ– नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन्।

जनवरी १ मा आफू आमा बन्न लागेको कुरा उनले इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन्। त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी हुन्।

यसै क्रममा निशाले इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर राखेकी छन् । निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै उक्त तस्विर सार्वजनिक गरेकी हुन्।