काठमाडौं– डा गोविन्द केसीको मुद्दामा केपी शर्मा ओली नेतृत्वको सरकारलाई झुकाएको नेपाली कांग्रेसले नयाँ एजेण्डा अघि सारेको छ। कांग्रेसले सभामुख र उपसभामुख एउटै पार्टीको हुने व्यवस्था संविधानले नगरेको भन्दै एकलाई राजीनामा दिन लगाउन रणनीति तयार गरेको हो।

‘अब, उहाँहरुको पार्टी एक भइसकेपछि दुबै पद अलग अलग पार्टीको हुनुपर्‍यो । यस सन्दर्भमा हामी संसदमा आवाज उठाइरहेका छौं र बाहिर सडकमा पनि आवाज उठाइरहेका छौं’, उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

संविधानमा सभामुख र उपसभामुख दुईवटा पद अलग अलग पार्टीको हुनुपर्ने व्यवस्था भएको अलग अलग पार्टीको हुनुपर्ने कांग्रेसको धारणा रहेको भन्दै त्यो पुरा नभए सडक र सदन तताउने उनले चेतावनी दिए। ‘दुईवटा अलग अलग पार्टीको प्रावधान जुन संविधानमा गरिएको छ, त्यो अनुसार कार्यान्वयन हुनुपर्‍यो ।

त्यो कार्यान्वयन नहुनु भनेको संविधानको उल्लंघन गर्नु हो’, उनले भने, ‘दुईमध्ये एक पद छोड्दैन भने हामी आन्दोलन गर्छौं । शान्तिपूर्ण आन्दोलन गर्छौं । सदन र सडकमार्फत यो मुद्दालाई लिएर सशक्त आन्दोलन गर्छौं ।

सभामुख र उपसभामुख दुईवटा अलग(अलग पार्टीको हुनुपर्छ भन्ने जुन संविधानमा व्यवस्था छ, त्योअनुसार उहाँहरुले कार्यान्वयन गर्न खोज्नुभएन भने संसदमा र सडकमा अत्यन्त सशक्त आन्दोलन हुन्छ ।’