१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले देशमा गलत उद्देश्यबाट निर्देशित पैसा भित्रन नदिइने बताएका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्न बताए । ‘गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने ‘ नेपाल भित्रने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरीयतालाई पनि ख्याल गर्नुपर्ने बताए । देश अहिले विकासको महअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए ।

सरकारलाई जनताले देश अघि बढाउनेे अधिकारसहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । ‘अब जनतामा आत्मविश्वास बढाएर देशनिर्माण गरिन्छ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाललाई बधाइ समेत दिए । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुद ढंगले गर्ने प्रधानमन्त्री ओलीले विस्वास व्यक्त गरे ।

संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरीराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।