भक्तपुरः नेकपा एमालेका नेता एवम् पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेका ५० प्रतिशत अपराध घटाउने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको दाबी गरे । ‘मसँग भएको योजनालाई कार्यान्वयन गरेर अघि बढे अपराध न्यूनीकरण जुनसुकै मन्त्रीले गर्न सक्छन्’, पण्डितले भने ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै बिकासको फड्को मार्न सक्ने लालबाबुले बताए । ‘मन्त्रीले इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुन्छ’, उनले भने, ‘यस भएमा २० वर्षमै नेपाललाई दातृ राष्ट्रका रुपमा समेत विकास गर्न सकिन्छ ।’

प्रदेशको राजधानीका विषयमा बृहत छलफल भइरहेका जनताको भावना अनुसार नै राजधानी तोकिने जानकारी दिँदै उनले प्रदेश राजधानी बनाउनु पहिला ब्यापक छलफल हुनुपर्ने स्पष्टिकरण दिए ।

वाम गठबन्धनको एकीकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँडपछि एकीकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।

  • अन्नपूर्ण पोस्ट बाट