काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राजधानी काठमाडौं उपत्यकामै माफियाविरुद्ध कडा प्रतिकार गरेको छ ।

विद्यार्थी ठग्ने पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका तीनवटा कलेजमा तोडफोड गरेको छ । काठमाडौंस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले बताए । कलेजहरूले मानोमानी ढंगले शुल्क लिने गरेको भन्दै आफूहरू कारबाहीमा उत्रिएको उनले दाबी गरे ।

उनीहरूले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङ समेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनिष सिंखडा, चेतराज कँडेल ‘सुजन’, पौवल बज्राचार्य, अर्बत खड्का, केयुर न्यौपाने, कृष्ण पुडासैनी, सरोज थापा, प्रशान्त थापा, दिपेश ओली, निराज घिमिरे र सुरज ऐर रहेका छन् ।

नेविसंघका विद्यार्थीले एपेक्स, टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका थिए । गत शुक्रबारबाट शुरू भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेस्टरको परीक्षा दिन विद्यार्थी वञ्चित भएपछि नेविसंघ आन्दोलनमा उत्रिएको छ ।

कलेजको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ तोडफोडमा उत्रिएको जनाइएको छ ।

विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरिए पनि बेवस्ता गरेकोले आफूहरू कडा कारबाहीमा उत्रिन बाध्य भएको विद्यार्थी नेताले बताएका छन् ।

Loading...